Thursday, December 22, 2011

१ करोड २२ लाख नक्कली भारु

काठमाडौ, पुस ६ -
वीरगन्ज लैजान तयार पारिएको १ करोड २२ लाख नक्कली भारतीय रुपैयाँसहित भारतीय, फिलिपिनो र एक नेपाली नागरिक बुधबार पक्राउ परेका छन् ।

भारतको मोतिहारी चम्पारण बेतियाका नसिम आलम, फिलिपिन्सका डेनिस सेनसेज र खोटाङका डिकबहादुर नेपालीलाई प्रहरीले कलंकीको मकालु पेट्रोलपम्प छेउमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डेनिसले दुबई, कतार र दिल्ली हुँदै उक्त रकम काठमाडौं लिएर आएका हुन् । नक्कली कारोवारमा यति ठूलो रकम फेला परेको यो पहिलोपल्ट हो । उनले दुबईमा रहेका एक व्यक्तिले पैसा नेपाल पुर्‍याउन लगाएको बताए । उनले किङ फिसन एयरवेजबाट दुबई, कतार र नयाँ दिल्ली हँुदै मंगलबार नेपाल आएर सोल्टी होटलमा रात बिताएका थिए ।

प्रहरीले यसअघि कस्मेटिक सामानभित्र प्याक गरेर ल्याएको अवस्थामा नक्कली रुपैयाँ फेला पर्ने गरेको थियो । त्यस्तै प्याकमा सामान आएको देखेपछि विमानस्थलमा खटिएको प्रतिआतंकवाद सेलको प्रहरीले उनलाई पिछा गरेका थिए । होटलमा पनि प्रहरीले निगरानी राखेको थियो । 'उनी चेक आउट गर्ने/नगर्नेमा पनि सशंकित देखिन्थे,' एक प्रहरी अधिकृतले भने, 'चेक आउट गरेपछि विमानस्थल जाने अनुमान गरेका थियौं, तर उनी कलंकी लागे ।' कलंकी पुगेको केहीबेरमै आलम र डिकबहादुर उनलाई भेट्न आएपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका नेपाली र आलम बल्खुको एलएक्स फुटवेयर कम्पनीमा काम गर्छन् । आलमले १५ दिनअघि घर जाँदा अबताफ नामको व्यक्तिले सामान ल्याउन लगाएको बताए । 'विदेशबाट सुन आउँदै छ, यहाँसम्म ल्याइदिए पैसा दिन्छु भनेकाले लिएर जान लागेको थिएँ,' उनले भने, 'तर पैसा रहेछ ।' डिकबहादुरलाई अंग्रेजी बोल्न आउने भएकाले आफूसँग लगेको आलमले बताएका छन् । नेपालीले पनि आलमले वीरगन्ज पुगेर आऊँ, २० हजार रुपैयाँ दिन्छु भनेकाले गएको बताए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी टेकबहादुर तामाङले पक्राउ परेकामाथि खोटा चलनअन्तर्गत मुद्दा चलाइएको बताए । प्रहरीले गत कात्तिकमा ४५ लाख भारतीय रुपैयाँसहित पाकिस्तानका मोहम्मद समिललाई पक्राउ गरेको थियो ।


प्रकाशित मिति: २०६८ पुस ७ ०९:४०

0 comments:

Post a Comment