Thursday, December 22, 2011

राजेश हमालको बिहे भयो दाइ ?

बैंकक -थाइल्यान्ड, पुस ६ -
'दाइहरूलाई स्वागत छ,' मध्य बैंककको सुकोथाई रोडस्थित जेम्स फेसनभित्र पस्दै गर्दा दुई युवती अघिल्तिर उभिए । चिनियाँ मालिकको यो भव्य फेसन पसल पस्दै गर्दा हाम्रा पाइला अचानक किन पनि रोकिए भने- स्वागतमा उभिएका थाई या चिनियाँ नभई नेपाली मूलकी युवती थिए, सुरुमै उनीहरू नेपाली फिल्मबारे गफिन चाहे । बुटिकको दायाँ कुनातिर चिटिक्क पारेर पर्यटकका लागि सजाइएको गिफ्ट सपमा जुम्ल्याहा हात जोडेर अभिवादनसाथ मुसुक्क हाँसिरहेका थिए, म्यान्मार -बर्मा) बाट काम गर्न आएकी मल्लिका विष्ट र सोनु ढुंगाना ।

नेपालबाट आएको थाहा पाउनेबित्तिकै यी दुईले ठूलो सिसाको ढोकाछेउ उभिरहेकी थाई युवतीलाई कफी मगाए । १९ वषर्ीया सोनुले बस्नलाई टुल ल्याइदिइन् र भनिन्, 'बरु सामान केही नकिन्नुस् तर नेपाली फिल्मका कलाकारबारे बताइदिनुस् ।' यहीबेला गिफ्ट सपमा दुई पर्यटक भित्रिए, तर सोनु र मल्लिका भने बेपर्वाह साथ गफमै मस्त हुन चाहे । बरु उल्टै हातको इसाराबाट छेवैकी थाई युवतीलाई पर्यटकसँग डिल गर्न अर्‍हाए । 'राजेश हमालको बिहे भयो दाइ ?' सोनुले पहिलो प्रश्न फयाँकिन् । १८ वषर्ीया मल्लिका अनुनय भावमा फिस्स हाँसिन् ।

'भएको छैन नि,' छेवैमा उभिरहेका साथी रत्न श्रेष्ठले भने ।

'आहा १ हो र ?' मल्लिका बोलिन्, 'अनि उमेरचाहिँ कति भयो होला नि ?'

'५५ देखि ६० को रेन्ज' रत्नलाई सुनेपछि दुवैले जिब्रो काढिन् र भनिन्, 'आम्मै, फिल्म त भर्खरको देखिन्छ त ?' यसपछि प्रसंग रेखा र निखिलतिर मोडियो । नायिका रेखाको निर्माता छवि ओझासँग बिहे भइसकेको र निखिलले सञ्चिता लुइँटेललाई कान्छी बनाएर बच्चासमेत भइसकेको सुनेपछि मल्लिका अलिक निराश भइन् । 'बिहे भएकै छैन होला ठानेकी थिएँ,' हातको कलम चिउँडोनेर खेलाउँदै उनी बोलिन्, 'दुई दुईटी पो ?' उनीहरूले झरना थापा, विराज भट्ट र विपना थापालाई पनि सम्झे । झरनाको सुनीलकुमार थापासँग र विपनाको दुई वर्ष पहिले भारतमा बिहे भएको सुनेपछि सोनु फुस्फुसाइन्, 'सप्पैको पो बिहे भइसकेछ हगि ?'

म्यान्मारको मोगोक फयाडाँडामा १० कक्षा पढ्दापढ्दै कामको खोजीमा थाइल्यान्ड आएकी मल्लिका र यांगुन -रंगुन)बाट एक दिन एक रातको बस-यात्रापछि पुगिने डान्डागुबाट एक वर्षअघि बैंकक भित्रिएकी सोनु म्यान्मारका आमनेपाली भाषीजस्तै नेपाली फिल्मका जर्बजस्त फयान

रहेछन् । कुराकानी क्रममा यी दुइले 'दुनियाँ', 'धडकन्', 'आमाको माया', 'मेरो एउटा साथी छ', 'निखिल दाइ', 'हिम्मत', 'सिँउदोको सिन्दुर', 'लवकुश', 'कर्तव्य', 'आमाको काख', 'दर्पणछाया' 'पापीमान्छे', 'आशिर्वाद', 'मैदान' लगायत आफूले हेरेका झन्डै ६० वटा जति नेपाली फिल्मको नाम फटाफट भने । 'नाम मात्रै हो र ?' सोनु बोलिन्, 'हिरो हिरोइन् र कहानी पनि कन्ठै आउँछ ।'

मल्लिकाले चाहिँ अन्तिमपटक 'अजम्बरी नाता' हेरेको बताइन्, जुन उनले कामको लागि म्यान्मार छाड्नुअघि आमा, बुबा र भाइहरूसँग घरैमा हेरेकी थिइन् । 'अजम्बरी' र 'नाता' शब्द सुन्नासाथ सिसाको ढोका पर्तिर काम गरिरहेका २७ वषर्ीय मोहन लिम्बू कुदेर आइपुगे । झयाप्प कपाल पालेका र हमेसा मनमनै कतै हराइरहनेझैं मनोदशा बोकेका उनले सोनु र मल्लिकालाई झन्डै हकारेको लवजमा भने, 'के थाहा छ तिमीहरूजस्ता बच्चीलाई अजम्बरी नाताको अर्थ ? सुन्न चाहन्छयौ ?'

मोहनको आकस्मिक प्रवेशबाट वाल्ल परेका सोनु र मल्लिका 'सुन्न चाहन्छयौं ?' भन्ने वाक्यले हौसिए । 'ल भन्नुस् त,' मल्लिका अघि सरिन् । 'अजम्बरी नाता भनेको सस्तो नाता हैन बुझयौ ?' मोहनका गम्भीर आँखाहरू चल्मलाए, 'त्यो माटोको नाता हो, भाषा, संस्कृति र आफ्नोपनको नाता हो ।' पूर्वको धरान हुँदै म्यान्मार छिरेका पुर्खाहरूको सम्झना गर्दै मोहनले आफूहरूले म्यान्मारमा नेपाली भाषा र संस्कृतिलाई जोगाएर राखेको सगर्व उल्लेख गरे । पसलको ग्राहकसँग डिल गर्न जानुअघि उनले उत्साहित भएर भने, 'बैंककमा पनि हामी नेपालीपनको संरक्षण गर्न छिट्टै समिति गठन गर्दै छौं । समिति भएपछि थाइल्यान्डमा नेपाली संस्कृति र भाषा जोगाउन बल पुग्नेछ ।'

३२ डिग्री बैंककको तापक्रममा सर्टको आधा बाहुला पाखुरातिर सुक्र्याएका उनले हिन्दी नक्कलभन्दा नेपालीपनको जर्गेना हुने खालको फिल्म बनेमा राम्रो हुने सल्लाह पनि दिन भ्याए । म्यान्मार छँदा उनी निकै नेपाली फिल्म हेर्थे, बैंकक आएपछि कम्तीमा १५ दिनको एकपटक । मल्लिका र सोनुले पनि यही बताए । यी दुई नेपाली फिल्मको यतिसम्मको जब्बर फयान दरिए कि 'कुनै कलाकारको फोटो छ भने छोडिराख्नु न,' भने ।

'अहो, यो त 'दुनियाँ' फिल्मको सिन हो,' गुगल सर्चमा भेटिएका राजेश हमालको फोटोलाई ल्यापटपमा देखाएपछि दुवैजना चिच्याए, 'कम्तीमा पनि सातपटक हेरेका छौं यो फिल्म ।' जुन तस्बिर देखाए पनि फिल्मको सिनसहित भन्न सक्ने यी युवती नेपालमै फिल्म हेर्ने औसत दर्शकभन्दा निकै माथिका झैं लाग्थे । उनीहरूका अनुसार म्यान्मारमा प्रायः सबै नेपाली आफ्नो भाषाको फिल्म भनेपछि हुरुक्कै हुन्छन् ।

अब गम्भीर कुरा । गम्भीर किनभने म्यान्मारमा नेपाली फिल्म हलमा चल्दैन, विद्यालयमा नेपाली पढाइने भएकाले भाषिक समस्या नभए पनि उता कुनै नेपाली फिल्म बन्दैन, सबै फिल्म नेपालबाटै जाने हुन् । सोनु र मल्लिकाकै अनुसार पनि एउटा फिल्मको सिडीले लाखौं बर्मेली क्याट -रुपैयाँ) कमाउँछ । सिडी या डिभिडी किन्न कम्तीमा १ हजार क्याट तिर्नुपर्छ, भिडियो पार्लरबाट भाडामा ल्याएर हेर्ने हो भने ५ सय

क्याट । थाइल्यान्डमा चाहिँ सिडी किन्नुपरे ३ सय भाट -झन्डै सात सय ५० रुपैयाँ) र भाडामा ल्याएर हेर्न ६० भाट । 'फिल्म कहाँबाट आउँछ थाहा छैन,' सोनुले भनिन्, 'तर म्यान्मार र थाइल्यान्डमा सजिलै पाइन्छ र हामी कुनै पनि नेपाली फिल्म छुटाउँदैनौं ।'

मोहनका अनुसार धेरैजसो फिल्म पाइरेसी भएरै म्यान्मार

भित्रिन्छन् । पछिल्लोपटक थाइल्यान्डका भिडियो पार्लरहरूमा नेपाली फिल्मको डिभिडी र सिडीहरू देखिने क्रम बढेको छ । म्यान्मारमा भारतको पश्चिम बंगाल या आसाम-मेघालय हुँदै अवैध फिल्मको कपी पुग्छन् र थाइल्यान्डमा सीधै काठमाडौंबाट । 'जे भए पनि,' मोहनले भने, 'हामीले आफ्नो भाषा र संस्कृतिको फिल्म त हेर्न पाएका छौं नि ।' सोनु र मल्लिकालाई पनि फिल्मको वैध-अवैध व्यापारबारे केही सरोकार छैन । उनीहरू यति चाहन्छन् कि सजिलै नेपाली फिल्म हेर्न पाइयोस् । 'बरु विदेशमा सजिलै नेपाली फिल्म पुर्‍याउनेबारे निर्माताले सोच्नुपर्छ कि,' मल्लिकाले अलिक भलादमीझैं सुझाव दिइन्, 'हामीलाई नि फाइदा निर्मातालाई पनि ।'

महिनामा १० हजारदेखि १५ हजार भाटसम्म कमाइ गर्ने सोनु र मल्लिकाले फिल्मी दुनियाँ जोडिएको अर्को सपना पनि सुनाए । नृत्य र अभिनयमा रुचि राख्ने यी दुई फिल्म र म्युजिक भिडियो पनि खेल्न चाहन्छन् । एकपटक पुर्खाहरूको थलो नेपाल हेर्ने पनि यी दुईको सपना छ । 'डङ्गै -धेरै) पैसा कमाएपछि एकपटक जसरी भए'नि काठमाडौं आउँछौं है,' लगभग ३ घन्टाको कफी गफपछि छुट्ने बेला दुवैले भने, 'अनि

उतै भेटौंला ।'


0 comments:

Post a Comment